---बिनु रिजाल
आर्थिक कारोबारका लागि अहिले मानिसहरू बैंकको ढोका चहार्छन् । प्राचीन समयमा आर्थिक कारोबारका लागि मानिसहरू बैंक हैन मन्दिरमा जाने गरेको देखिन्छ । प्राचीन विश्वमा धेरै मानिसको पैसाको कारोबार गर्ने र सामान धितोमा राख्ने केन्द्रका रूपमा मन्दिरहरू विकास भएका थिए ।
ऋण, बचत र धितो बैंकिङ क्षेत्रमा सबै भन्दा बढी प्रयोग हुने शब्द हुन् । परापूर्व कालमा यी शब्दहरू चर्चामा थिएन । परापूर्व कालमा अहिलेका जस्ता आधुनिक बैंक पनि थिएनन् । सामान किन्न जाँदा एक झोला पैसा बोकेर जानुपर्थ्यो । पैसा चोरी हुने डर थियो । त्यसो त अहिलेको जस्तो पैसा सिक्का र नोटमा पनि हुँदैनथ्यो । 'बार्टर सिस्टम'मा हामीले प्रयोग गर्ने वस्तु तथा जनावरहरू नै लेनदेनका माध्यम थिए । प्राचीन विश्वमा धार्मिक मन्दिरहरूलाई पहिलो 'बैंकका रूपमा लिइन्थ्यो । पैसाको आविष्कार हुनुभन्दा अगाडि नै मन्दिरहरू बनिसकेका थिए । निक्षेप संकलन र ऋण प्रदान गर्ने कामसमेत मन्दिरले गर्दथे । निक्षेप, धरौटी र ऋणका रूपमा पहिले अन्नपात, घरपालुवा जनावर र कृषिक्षेत्रमा प्रयोग गरिने औजारहरू प्रयोग हुन्थे । त्यसपछि बिस्तारै बहुमूल्य सुन, चाँदीजस्ता धातुहरू प्रयोग हुन थाले । मन्दिर तथा दरबारहरू अन्य ठाउँभन्दा सुरक्षित थिए । राम्रोसित बनाइएकाले मन्दिरमा चोरी हुने सम्भावना कम हुन्थ्यो । मन्दिरमा धरौटी वा आफ्ना सम्पत्ति सुरक्षाका लागि राखिने चलन थियो । यसरी सामान धितोमा राख्नेले मन्दिरबाट कर्जा पनि लिन पाउँथ्यो ।
इसाको १८ औँ शताब्दीपूर्व बेबिलोनमा रहेका मन्दिरका पुजारीले व्यापारीलाई ऋण दिन थाले । त्यतिखेर बेबिलोनमा हाम्मुरावी संहिता लागू हुँदासम्म त बैंकिङ प्रक्रिया लागू गर्ने कानुनको विकास भइसकेको थियो । प्राचीन गि्रसमा पनि परापूर्व कालदेखि नै बैंकिङ पद्धति भएको देखिन्छ । गि्रसका मन्दिरहरूले ऋण, धरौटी, सिक्का सट्टापट्टा र सिक्काको आधिकारिकता प्रदान गर्ने काम गर्थे ।गि्रसको तटमा ऋण लिएको एउटा तथ्य पनि छ । पैसा तिरेका एक ग्राहकका लागि व्यापारीले सानो चिटमा 'नगद' लेख्थे । त्यो चिट देखाएर ती मानिसले अर्का सहरका व्यापारीबाट पैसा लिनसक्ने व्यवस्था गरिएको थियो ।
पाँचौँ शताब्दी इसापूर्वतिर पाइथियसले एसिया माइनरभरि 'मर्चेन्ट बैंक' चलाए । उनी नै पहिलो 'बैंकर' हुन् । गि्रसका सहरमा थुप्र्रै 'विदेशी' बैंकरहरू भएको बताइन्छ । ३७१ इसापूर्वमा दास भएर जन्मिएका पाइसियन गि्रसका सबैभन्दा धनी र प्रख्यात बैंकर बने । मेडिटेरियन विश्वमा ऋणमा आधारित बैंकिङहरू वृद्धि भए । इजिप्टमा पहिलेदेखि नै धातुका साथ अन्नपातलाई पैसाका रूपमा लिइँदै आएको थियो । त्यहाँ राष्ट्रको बैंकका रूपमा अन्नपात गृहस्थापना गरिएको थियो । टोलिमिजको गि्रक शासनअन्तर्गत -३३०-३२० इशापूर्व) इजिप्ट परेपछि, छरिएर रहेका असंख्य बैंकलाई थुप्रै खाद्यान्न बैंकहरूमा परिवर्तन गरियो । अलेक्जान्दि्रयामा यसको मुख्य शाखा खोलियो । केन्द्रीय बैंकमा देशभरिका खाद्यान्न बैंकमा भएका कारोबारको रेकर्ड राख्ने गरिन्थ्यो । यी खाद्यान्न बैंकको सन्जालले क्रेडिट सिस्टममा काम गथ्र्यो । तेस्रो शताब्दी इसापूर्वतिर एजियन आइल्यान्डको डिलोसले बैंकिङ क्षेत्रका रूपमा प्रख्याति पायो । रोममा स्थापना भएका बैंकहरू प्रायः यही मोडलमा आधारित थिए । प्राचीन रोमले बैंकिङका प्रशासनिक पाटोमा निकै सुधार गर्यो । वित्तीय संस्था र वित्तीय अभ्यासमा नियमहरूको विकास भयो । ऋणमा ब्याज र धरौटीमा ब्याज निकै प्रतिस्पर्धी तथा धेरै विकसित भयो । तर, रोमन बैंकहरू सीमित थिए । रोमन सम्राट् ग्यालिनियस (२६०-२६८) को शासनमा बैंकिङ सिस्टममा अस्थायी रूपमा रोक लाग्यो । ग्यालिनियसले बनाएका सिक्कालाई बैंकले अस्वीकार गरेपछि अस्थायी रूपमा बैंकमा रोक लागेको हो । क्रिस्चियानिटीको आगमनपछि बैंकिङ सिस्टममा थप प्रतिबन्ध लाग्यो । क्रिस्चियानिटीले ब्याजमा कर्जा लिनुलाई अनैतिक काम मान्दथ्यो । यसरी कर्जा लिने मानिसलाई त्यतिबेलाको समाजले नैतिक पतन भएको जस्तो व्यवहार गर्दथ्यो । रोमन साम्राज्यको पतनसँगै पश्चिमा युरोपमा बैंकलाई बेवास्ता गरियो । सन् ११०० तिर 'धर्मयुद्ध'मा धेरै पैसा एक ठाउँबाट अर्काे ठाउँमा सार्नुपरेकाले बैंकको पुनरागमन भयो । ११५६ मा जेनोआमा पहिलो विदेशी एक्सेन्च कन्ट्राक्ट स्थापना भयो । दुई दाजुभाइले ११५ जिनोइज पाउन्ड एक्सेन्जमार्फत कारोबार गर्न लिए । त्यो पैसा आफ्नो कन्स्टान्टिनोपोलको एजेन्टमार्फत एक महिनापछि 'धर्मयोद्धा' फर्काउने सहमति भएको थियो । यसपछिका शताब्दीमा यस्ता किसिमका सम्झौतामा वृद्धि भयो । समयको फरकका कारण हुने फाइदालाई अनैतिक मानिँदैनथ्यो । सन् ११६२ मा राजा हेनरी द्वितीयले 'धर्मयुद्ध' का लागि सहयोग गर्न कर लगाए । मन्दिरका कर्मचारी र अस्पतालका स्टाफहरूले होलील्यान्डमा बैंकरको काम गरे । आधुनिक पश्चिमा वित्तीय संस्था र वित्तीय इतिहास लन्डनको कफीहाउसबाट सुरु भएको मानिन्छ । १५६५ मा लन्डन रोयल एक्सचेन्जको स्थापना भयो । त्यतिबेलासम्म पैसाको सट्टापट्टा गर्ने व्यक्तिले आफूलाई 'बैंकर्स' भन्न थालिसकेका थिए । 'बैंक' भन्नाले बैंकरको अफिसलाई बुझन्थ्यो । बैंक शब्दको अहिलेको जस्तो अर्थ थिएन । बैंकहरूको पनि श्रेणी थियो । राज्यका प्रमुखसँग सोझै कारोबार गर्ने प्रथम श्रेणीका बैंकर हुन्थे भने पैसा सट्टापट्टा गर्ने सहरका केन्द्रहरू दोस्रो श्रेणीमा पर्थे । धितो पसल -लोम्बार्ड) तेस्रो नम्बरमा पर्थे । अहिले पनि केही युरोपेली सहरमा लोम्बार्ड स्टि्रटहरू छन् जहाँ धितो पसल रहेका छन् ।
१६०९ मा एम्सटर्डममा एम्सटर्डम एक्सचेन्ज बैंक स्थापना भयो । औद्योगिक क्रान्ति नहुन्जेलसम्म एम्सटर्डम विश्वको वित्तीय केन्द्र बन्यो । एडम स्मिथ (१७७६) को समयवरिपरि बैंकिङ उद्योगमा व्यापक वृद्धि भयो । स्वामित्व र लगानीको प्रणालीले वित्तीय मामिलामा राज्यको हस्तक्षेपलाई घटायो, प्रतिस्पर्धासामु रहेका तगारा हटायो । भारतमा १८ औँ शताब्दीको पहिलो दशकमा बैंकिङ प्रणालीको उदय भयो । भारतमा स्थापित पहिला बैंकहरूमा जनरल बैङक अफ इन्डिया (१७८६) र बैंक अफ हिन्दुस्तान थिए । अहिले यी दुवै बैंक अस्तित्वमा छैनन् । अस्तित्वमा रहेकामध्ये सबैभन्दा पुरानो स्टेट बैंक अफ इन्डिया हो । यसको सुरुवात १८०६ मा कलकत्ता द बैंक अफ बंगालका रूपमा भएको थियो ।
Source : Naya Patrika