Sunday, October 2, 2011

भिसाका लागि एक वर्षमै ६४ करोड!

लोकमणि राई,


काठमाडौं, माघ १७ - एक वर्षयता अमेरिका, बेलायत र अस्ट्रेलिया जाने विद्यार्थीले भिसा प्रक्रियाका लागि मात्रै करिब ६४ करोड रुपैयाँ खर्चेका छन् ।


फिर्ता नहुने यो रकम विद्यार्थीले भिसा पाउनुअघि तिर्नुपर्छ । भिसा प्रक्रियाका लागि अमेरिकाले सन् २००८ मा नेपाली विद्यार्थीबाट करिब ४४ लाख २ हजार अमेरिकी डलर -करिब ३४ करोड ८ लाख रुपैयाँ) असुलेको छ । त्यसमध्ये डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले स्टुडेन्ट एन्ड एक्स्चेञ्ज भिजिटर इन्फर्मेसन सिस्टम-सेभीस) शुल्कका नाममा करिब २० करोड ५९ लाख रुपैयाँ लिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले झन्डै १३ करोड ४९ लाख असुलेको छ ।
दूतावासले भिसा आवेदन शुल्कबापत प्रतिविद्यार्थी १ सय ३१ डलर -करिब १० हजार १ सय रुपैयाँ) र होमल्यान्ड सेक्युरिटीले प्रतिविद्यार्थी २ सय डलर -करिब १५ हजार ४ सय रुपैयाँ) लिन्छ । दूतावासका अनुसार २००८ मा करिब १३ हजार ३ सय विद्यार्थीेले भिसा आवेदन गरेका थिए । त्यसमध्ये ८ हजार ९ सय ३६ ले भिसा पाए । दूतावासले भिसा शुल्कबापत थप २ सय डलर असुल्छ ।


दूतावासका अनुसार उक्त वर्ष विद्यार्थीबाहेक भिसा आवेदन गर्नेको संख्या करिब २० हजार छ । उनीहरूले पनि त्यति नै आवेदन र सेभीस शुल्क तिर्नुपर्छ । दूतावासले विद्यार्थीबाहेक भिसा आवेदनबाट मात्रै करिब ५१ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।


यस्तै, अस्ट्रेलियाले चालू आर्थिक वर्षमा भिसा शुल्क आवेदनबाट करिब १९ करोड ५० लाख रुपैयाँ असुलेको छ । उसले भारतस्थित अस्ट्रेलियन हाई कमिसनमार्फत नेपाली विद्यार्थीको आवेदन लिने गरेको छ । कमिसनले प्रतिविद्यार्थी करिब २५ हजार रुपैयाँ लिन्छ ।


शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६४/६५ मा ७ हजार ७ सय २२ विद्यार्थीले अस्ट्रेलियाका लागि 'नो अब्जेक्सन लेटर' लिएका थिए । अस्ट्रेलियाका उच्च शिक्षालयले नेपाली परामर्शदाता कम्पनीलाई शैक्षिक सत्रभरि विद्यार्थीले तिर्ने शुल्कबाट कमिसन दिने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । अस्ट्रेलियाका लागि नेपाल
११ औं ठूलो स्रोत मुलुक हो । मन्त्रालयका अधिकारीले पनि त्यहाँ जाने विद्यार्थी संख्या बढेको जनाए ।
बेलायतले गत आर्थिक वर्षमा नेपाली विद्यार्थीबाट भिसा शुल्कबापत करिब १७ करोड ६० लाख रुपैयाँ पाएको शैक्षिक परामर्श कम्पनीहरूको अनुमान छ । राजधानीस्थित यूके भिसा एप्लिकेसन सेन्टरका सुपरभाइजर अमित चुकेले यसबारे तथ्यांक दिन नमिल्ने बताए ।
सेन्टरले प्रतिविद्यार्थी करिब १२ हजार रुपैयाँ शुल्क असुल्छ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा बेलायत जान 'नो अब्जेक्सन लेटर' लिने विद्यार्थी संख्या २ हजार ८ सय ४४ थिए ।


नेपाली विद्यार्थीको अर्को आकर्षक गन्तव्य क्यानडाले भने भिसा आवेदन शुल्क लिँदैन । उच्च शिक्षाका लागि विदेसिनेमा नेपाल दक्षिण एसियाकै दोस्रो ठूलो मुलुक हो । गत आर्थिक वर्षमा यहाँबाट २१ हजार ३५ विद्यार्थीले 'नो अब्जेक्सन लेटर' लिएको मन्त्रालयले जनाएको छ । हालसम्म ५१ मुलुकमा नेपाली विद्यार्थी पढ्न पुगेका छन् ।




(Source: Kantipur)